काठमाडौँ, १९ जेठ। सिद्धार्थ बैँक लिमिटेडलगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (कम्पनी)ले २०७४ मंसिर १ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ। हालसम्म बैंकको ८८ वटा शाखा तथा उपशाखाहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि छुट्याइएको बैंकले जनाएको छ।
यसै सम्बन्धमा सर्वसाधारणका लागि जारी गरिने रु.६३ करोड रकम बराबरकोे शेयरको सार्वजनिक निष्काशन सम्बन्धि सम्पूर्ण कार्य निष्काशन तथा बिक्री प्रबन्ध गराउनका लागि रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ। उक्त सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन्।