चितवन, १९ जेठ। चितवनलाई कृषि क्षेत्रको लागि पकेट क्षेत्र नै मानिन्छ। कृषि तथा वन वि१ान विश्वविद्यालय पनि चितवनमै छ। सोही विश्वविद्यालयले यही जेठ ३२ देखि असार ३ गतेसम्मको लागि कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ आयोजना गर्ने भएको छ। नेपालको कृषि क्षेत्रको सुदृढिकरण गर्दै सवलिकरणमा टेवा पुर्याउने उद्देश्यले विश्वविद्यालयको दसौँ स्थापना दिवसको अवसरमा मेला आयोजना गर्न लागेको आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
राजनितिक किचलोले पठनपाठन तथा कार्यालयको काममा सधैँ समस्या झेल्दै आएको विश्वविद्यालयले स्थापनाको १० वर्षपछि जनमानसमा सकारात्मक सन्देश दिनको लागि यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न लागिएको मेला आयोजना गर्न लागेको मूल आयोजक समितिका संयोजक प्रा.डा.मनराज कोलाक्षपतिले जानकारी दिए।
विश्वविद्यालय परिसरमै आयोजना हुने मेलामा विश्वविद्यालयको विशेष स्टलसहित कृषि प्रविधि तथा कृषकका गरि ५० वटा स्टल रहने उनको भनाइ छ। विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विकास गरेका प्रविधिबारे जानकारी गराउन पनि मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।
मूल आयोजक समितिका सदस्य सचिव एवम् विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. नवराज देवकोटाका अनुसार उक्त मेलामा अनुसन्धान तथा प्रसार निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयले विकास गरेका १० वटा प्रविधिका बारेसमेत जानकारी गराइनेछ।
कृषक, विद्यार्थी, कृषि प्राविधिक, कृषि उद्यमी एवम् कृषि मेसिनरी व्यवसायीबीच अन्तरक्रिया गर्दै समग्र कृषि क्षेत्रको उत्पादकत्व बढाउन र समृद्ध नेपाल निर्माणको लागि सहयोग पुग्ने अपेक्षासहित आयोजना गर्न लागेको मेला सम्पन्न गर्नको लागि ३० देखि ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।