चितवन, २० जेठ। यही जेठ २४ गतेदेखि चितवनको भरतपुरमा चितवन च्याम्पियनसिपको पाँचौँ संस्करण हुने भएको छ। एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।
‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीयसहित १६ टिमको सहभागीता रहने क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए। प्रतियोगिताको बिजेताले हनामी पाँचौँ चितवन च्याम्पियनसिपसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ भने उपबिजेताले नगद एकलाख ५० हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै तेस्रो हुने समूहले पनि ५० हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
उक्त प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई नगद १०/१० हजार रुपैयाँका दरले पुरस्कृत गरिने अध्यक्ष देवकोटाले जानकारी दिए। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने उनको भनाइ छ। भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिता असार ७ गतेसम्म चल्नेछ।