काठमाडौँ, २० जेठ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट प्रतिपादित मापदण्डअनुसार नेपालको हवाई सुरक्षालाई थप प्रभावकारी बनाइने भएको छ। सङ्गठनको मापदण्ड, सिफारिस, निर्देशिका तथा नागरिक उड्डयनसम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षाका प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सोमबार सम्झौता भएको हो।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले हवाई सुरक्षासम्बन्धी समझदारीपत्र आदानप्रदान गरेका हुन्। प्राधिकरणका हवाई सुरक्षा निर्देशक देवचन्द्रलाल कर्णले विश्वका सम्पूर्ण हवाई क्षेत्रको नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा प्रतिपादित कानून सबै सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने जानकारी दिए। नेपालका सबै विमानस्थलको सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी र प्राधिकरणबीच भएको समझदारीले सबै विमानस्थलको सुरक्षा थप प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे। -रासस