पाँचथर, २० जेठ। साथीको सहयोगमा घाँटी रेटी हत्या गर्ने दुई जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। हिलिहाङ गाँउपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको गत वैशाख २९ गते साँझको समयमा हत्या गर्ने अभियुक्त पदम तामाङ र भगिरथ बाँस्तोलालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।
प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले पदम र शीतलबीच पहिलाबाटै प्रेम सम्बन्ध रहेको र पे्रममा खटपट भएपछि हत्या गरेको बयान दिएका जानकारी दिए। बाँस्तोलालाई भने हत्या भएको भोलिपल्ट नै प्रहरीले फिदिमबाट पक्राउ गरेको थियो। तामाङलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको उनले बताए।
फाल्गुनन्द गाउँपालिका–२, पात्लेभञ्ज्याङ निवासी तामाङले छिमेकी साथी बाँस्तोलाको सहयोगमा शीतलको गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए। हत्या भएको २१ दिनपछि तामाङलाई पक्राउ गर्न सफल भएको कुँवरले बताए। जिल्ला प्रहरी कार्यालय पाँचथर र झापाका विभिन्न प्रहरी युनिटसँगको सहकार्यमा तामाङलाई पक्राउ गरिएका उनले जानकारी दिए। -रासस