काठमाडौँ, २० जेठ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप प्रत्यारोप भएको छ। सत्तारूढ दलका सांसदहरुले आर्थिक वर्ष २०७६/७७ को लागि संसदमा पेश भएको बजेटलाई सकारात्मक नजरबाट हेर्न आग्रह गरेका छन्।
सोमबार बसेको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसदहरु खगराज अधिकारी, विरोध खतिवडा, पद्मनारायण चौधरी, विशाल भट्टराई, नवराज सिलवाल, महेश्वरजङ्ग गहतराज र यज्ञराज सुनुवारले समग्रमा बजेट राम्रो भएकाले विरोधका लागि विरोध नभई सकारात्मक आँखाबाट हेर्न प्रतिपक्ष दलका सांसदहरुलाई आग्रह गरेका हुन्। बजेट कडाइका साथ कार्यान्वयन भए बजेटबाट परिणाम हासिल हुने विषयमा कुनै आशङ्का नरहने सत्तारुढ दलका सांसदहरुको जिकिर थियो।
प्रतिपक्षी दलका नेताहरुले भने सरकारले ल्याएको बजेटले राजस्वबाट चालू खर्च धान्नसमेत मुस्किल परिरहेको अवस्थामा बजेटमार्फत जनतालाई अनावश्यक सपना बाँडेर भ्रम छरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका भीमसेनदास प्रधान, प्रदीप गिरी, बहादुरसिंह लामा, अमरेशकुमार सिंह र मीना सुब्बाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलव्ध गराउने र ७० वर्षभन्दा माथिका जनतालाई शतप्रतिशत पुर्याउने विषय सपनाका पोका रहेको बताए। प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ।