चुरु (भारत), २० जेठ। भारतको सुख्खा क्षेत्रमा पर्ने शहरको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ। पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरुले जनाएका छन्। देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सीयस पुगेको समाचारमा जनाइएको छ।
यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो। यो देशकै सबैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो। भारतमा सन् २०१६ को मे महिनामा सर्वाधिक तापक्रम बढेको थियो। त्यतिबेला ५१ डिग्री सेल्सीयस मापन गरिएको अधिकारीहरुले जनाएका छन्। अत्यधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको थियो।
भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ। नजिकैको प्रदेशहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरुको भनाई छ। नयाँ दिल्लीमा सोमबार झण्डै ४० डिग्री तापक्रम महसुस गरिएको छ। -रासस/एएफपी