भक्तपुर, २० जेठ। मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन्। नगरपालिकाको विशेष नगरसभाको माग गर्दै उनीहरु धर्नामा बसेका हुन्। गत बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगरसभा माग गरेका जनप्रतिनिधिहरुले नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बेवास्ता गरेको भन्दै सोमबार नगर प्रमुखकै कार्यकक्षमा धर्ना दिएका हुन्। दिउँसो २ बजे सुरु भएको धर्ना कार्यक्रम साँझ ७ः३० बजेसम्म चलेको थियो।
जनप्रतिनिधिहरुले नगरप्रमुख श्रेष्ठलाई कार्यकक्ष बाहिर जान नदिई धर्ना बसेका थिए। धर्नापछि नगरप्रमुख श्रेष्ठले उपप्रमुखलगायतको विशेष नगरसभाको मागपत्र दर्ता गर्ने तोक आदेश दिएको वडा नं १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए। उपप्रमुख मधिकर्मीलगायत नगरपालिकाका ३५ जना जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (१९) को उपदफा (३) र ३ नं. प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम नगरका विभिन्न पाँचवटा विषयमा छलफल गर्न आवश्यक भएको भन्दै विशेष नगरसभा बोलाउन माग गरेका थिए।
नगरपालिकाले उठाउँदै आएको करको दर समसामयिक बनाई पुनरावलोकन गर्न, भौतिक पूर्वाधार विकासको (मापदण्ड) संशोधन सम्बन्धमा, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा (क) मा भएका नगरप्रमुखको काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर नगरप्रमुखले काम गरेको आरोप लगाइएको छ। -रासस