नारायणगढ । नवीन अटो सेन्टर नारायणगढले मोटरसाइकल निर्माता कम्पनी यामाहाको चर्चित मोटरसाइकल ‘एफजेड’ को नयाँ मोडल चितवनमा सार्वजनिक गरेको छ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले मोटरसाइकल स्टार्ट गरेर यसको सार्वजनीक गरेका थिए।
‘एफजेड एस एफआइ भी थ्री’ नाम दिइएको उक्त मोडलको मोटरसाइकल सार्वजनिक एवम् प्रचारप्रसारको लागि कम्पनीले रोड शो नै आयोजना गरेको यामाहा कम्पनीका बजार प्रमुख बिक्रम शर्मा पौडेलले जानकारी दिए। सबैखाले भू-भागमा सजिलै गुड्न सक्ने भएकोले नेपाल जस्तो भौगोलिक बिबिधता भएको देशको लागि यो मोटरसाइकल उत्कृष्ट भएको कम्पनीको दावी छ। आज सार्वजनीक गरिएको यस मोटरसाइकलमा एबिएस नामक नयाँ प्रबिधि जडान भएको बताइएको छ, जसले मोटरसाइकल रोक्न अगाडीको ब्रेक प्रयोग गर्दा हुन सक्ने सम्भाबित दुर्घटनालाई न्यूनिकरण गर्ने कम्पनीले दावी गरेको छ।
आज सार्वजनिक गर्नुपूर्व नै बजारमा आएको केही दिनमै अत्याधिक माग भएको कम्पनीका बरिष्ठ बजार ब्यवस्थापक शंकर श्रेष्ठले जानकारी दिए। चितवनको लागि आधिकारिक बिक्रेता नवीन अटो सेन्टर परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय कलाकारद्वय अलमोडा राना उप्रेती र धर्मेन्द्र सेवानले सांगितिक प्रस्तुती दिएका थिए।
नयाँ मोडलको मोटरसाइकलको प्रचार गर्न राष्ट्रब्यापी रोड शो कार्यक्रमको आयोजना गरिएको नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्यले जानकारी दिए। साँझपख शुरू भएर रातिसम्म चलेको उक्त कार्यक्रममा दर्शक तथा ग्राहकको बाक्लो उपस्थिती थियो। दुवैजना कलाकारहरूको प्रस्तुतिमा चितवनबासिले भरपुर मनोरञ्जन लिएका थिए। गायक उप्रेतीले ‘पानी पर्यो’, ‘माया माया’, ‘दिलको भित्तामा’, ‘यति यति पानी’लगायतका गीत गाए भने गायक सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’लगायतका गीत प्रस्तुत गरे।
यसअघि कम्पनीले आफ्नो उत्पादनको क्षमता प्रदर्शन गर्नको लागि ‘राइड विथ रोडिज्’ अन्तर्गत उपल्लो मुस्ताङ र लोमान्थाङमा प्रस्तुति दिइसकेको छ। यसअघि पोखरा र बुटवलमा सम्पन्न भइसकेको रोड शोको आगामी शृङ्खला बुधबार चितवनको पर्सामा आयोजना हुँदैछ।