चितवन, २३ जेठ। विहिवार राति ८ बजेतिर आएको हावाहुरीका कारण सुदुरपश्चिमका दुई जिल्ला प्रभावित बनेको छ। सयौं घरका छाना उडेका छन्, २० भन्दा बढी घाइते भएका छन् भने हुरीले गाडी समेत उडाएको बताइएको छ।
करीब ४० मिनेट सम्म चलेको सो हावाहुरी आजसम्मकै सबैभन्दा ठूलो भएको स्थानीयको भनाई छ। कैलाली र कञ्चनपुर प्रहरी उद्धारमा जुटेका छन्। दुवै स्थानका प्रहरीले उद्धार गरि सेती अञ्चल अस्पताल र महाकाली अस्पतालमा घाइतेहरूलाई पुर्याएको छ। रूख ढलेर मान्छेहरू च्यापिएको जानकारी पाए पनि ढलेकै रूखका कारण बाटो अबरूद्ध भएकोले प्रहरी त्यहाँ पुग्न नसकेको बताइएको छ। कैलाली प्रहरूका अनुसार कैलालीभरका प्रहरू एसपी सुदिप गिरी सहित उद्धारमा जुटेको भएपनि ढलेका पोल तथा रूखका कारण सहजै घटनास्थलमा पुग्न सक्ने वातावरण बनेको छैन। हुरीले उडाएको महिन्द्रा पीकअपका चालक र सहचालक दुईजनालाई भने कैलाली प्रहरीले सेती अञ्चल अस्पताल पुर्याएको छ।
हावाहुरीका कारण सडकका विजुलीका पोल ढलेका छन् जसले विद्युत सेवा अवरूद्ध बनेको छ। टेलिकमका पोलहरू ढलेका कारण सो सेवा समेत प्रभावित बनेको छ। स्थानीय वासिन्दा यसलाई केही समय अघी बारामा आएको भीषण हावाहुरीसँग तुलना गर्छन्।