नुवाकोट, २३ जेठ। दोस्रो नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा सङ्कटा क्लब विजयी भएको छ। सङ्कटाले चितवन–११ लाई २–१ गोलले पराजित गरेको हो। बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा सङ्कटा क्लबका लागि मेसायुके पिर्रेले खेलको ३४औँ मिनेट तथा कोने बोन्सले ६४औँ मिनेटमा गोल गरेका थिए। यस्तै चितवन–११ का लागि खेलको ७०औँ मिनेटमा सुरेश कुमालले सान्त्वना गोल गरे। कुमाल म्यान अफ दी म्याच घोषित भए।
उनले रु १० हजार पुरस्कार प्राप्त गरे। जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल संघको आयोजनामा भएको उक्त प्रतियोगितामा नुवाकोट–११ सहित नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ, च्यासल युथ क्लब र विजयी युथ हेटौँडाको सहभागिता रहेको नुवाकोट फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए। शुक्रबार आयोजक नुवाकोट–११ र विजयी युथ हेटौँडाबीच खेल हुनेछ। प्रतियोगिताको विजेताले नगद छ लाख तथा उप–विजेताले नगद तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता यही जेठ १३ गतेसम्म चल्नेछ। -रासस