चितवन, २३ जेठ। चितवनको रामपुरस्थित निर्माणाधीन क्रिकेट रंगाशालामा डोजर चलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकामध्ये चारजना अझै पनि हिरासतबाट छुटेका छैनन्। उनीहरुलाई बिना शर्त रिहाई गर्न माग गर्दै चारवटा स्थानीय टोल विकास संस्थाले आन्दोलन चर्काएका छन्। प्रकृति टोल विकास संस्था, राधाकृष्ण टोल विकास संस्था, रामपुर टोल विकास संस्था र शान्तिदीप टोल विकास संस्थाले संयुक्तरूपमा आन्दोलन थालेका हुन्।
‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले वस्तिलाई सुरक्षित राख्ने गरि काम गर्नुपर्ने उनीहरुको अर्को माग छ। रंगाशाला बन्दै गर्दा स्थानीयको लागि लागि बाटो पनि चाहिने उनीहरुको माग छ। ‘हामी विकास निर्माण बिरोधी होइनौँ, रंगाशाला बन्नुपर्छ भनेर हामीले भन्दै आएका छौँ,’ स्थानीय चन्द्रकला रामदामले भनिन्, ‘तर, हामीले आफ्नो हक अधिकारको माग गर्दा उल्टै विकास विराधीको बिल्ला भिराइयो ।’ बाहिर देख्दा फाउण्डेशनसँगको झगडा जस्तो देखिए पनि उनीहरूको आक्रोश भने स्थानीय सरकार र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग छ ।
‘फाउण्डेशनले त अहिले रंगाशाला बनाउन थालेको हुँदा भोलि हाम्रो उठिबास हुने पो हो कि भन्ने चिन्ता थपिएको मात्रै हो,’ उनले भनिन्, ‘तर, हाम्रो लडाईँ अहिलेको होइन, धेरै वर्ष पुरानो हो ।’ रंगाशाला निर्माण गर्ने विषयमा स्थानीयसँग भरतपुर महानगरपालिकाले सहजीकरण गर्न नसक्दा फाउण्डेशनसँग नराम्रो भएजस्तो देखिएको उनको भनाइ छ । रंगाशालामा डोजर लगाएपछि फाउण्डेशनका अध्यक्ष र उपाध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले दिएको अभिव्यक्तिले आफूहरूलाई थप दुःखी बनाएको भन्दै उनले थपिन्, ‘हाम्रो माग फाउण्डेशनसँग भन्दा पनि महानगरसँग हो ।
तर, महानगरले हाम्रो मागलाई बेवास्था गर्दा यो स्थिति आइलागेको हो ।’ अहिले स्थान्ीयले बाटोको सुनिश्चित गरेर समयमै रंगाशाला निर्माण गर्नुपर्ने माग गरिरहेका छन् । केही दिनअघि महानगरसँग बैठक बस्दा पनि आधिकारिक निर्णय नआएको उनले बताइन् । महानगर प्रमुख रेनु दाहालले स्थानीयको मागलाई गम्भीर रूपमा नहेरेको स्थानीयको आरोप छ । स्थानीय सन्तोष सुनार भने स्थानीयको मर्का नबुझी विकास गर्दा त्यसको परिणाम नराम्रो निस्किएको बताउँछन् । ‘स्थानीयलाई खुसी पार्न सके सबै काम राम्रो हुन्छ,’ उनले भने, ‘तर, यहाँ स्थानीयलाई रिस उठ्ने गराएर काम गर्न खोजेजस्तो देखियो । त्यसैले समस्या सिर्जना भयो ।’ स्थानीयलाई समस्या नपर्ने गरि विकास गरे चाहेजति सहयोग गर्न तयार रहेको उनको भनाइ छ । रंगाशाला निर्माण भइसकेपछि त्यसको प्रत्यक्ष लाभ पनि स्थानीयलाई नै मिल्ने हुँदा रंगाशाला निर्माणप्रति स्थानीय सकारात्मक रहेको उनले स्पष्ट पारे ।
‘स्थानीयलाई खुसी पार्न सके सबै काम राम्रो हुन्छ,’ उनले भने, ‘तर, यहाँ स्थानीयलाई रिस उठ्ने गराएर काम गर्न खोजेजस्तो देखियो । त्यसैले समस्या सिर्जना भयो ।’ स्थानीयलाई समस्या नपर्ने गरि विकास गरे चाहेजति सहयोग गर्न तयार रहेको उनको भनाइ छ । रंगाशाला निर्माण भइसकेपछि त्यसको प्रत्यक्ष लाभ पनि स्थानीयलाई नै मिल्ने हुँदा रंगाशाला निर्माणप्रति स्थानीय सकारात्मक रहेको उनले स्पष्ट पारे ।
तर, वर्तमान सरकारले स्थानीयको समस्यालाई बेवास्ता गरेर दबाब दिइरहेको उनको बुझाई छ । प्रहरी नियन्त्रणमा रहेका चारजनालाई नछाडिएसम्म धर्ना कार्यक्रम नरोकिने उनले बताए । जेठ १५ गते रंगाशालामा केही स्थानीयले डोजर लगाएर जस्ताको बार भत्काइदिएपछि रंगाशाला विवादमा परेको हो। स्थानीयसँग कुरा नमिल्दा निर्माणकर्ता ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले विज्ञप्ति निकालेर काम रोकेको छ।