चितवन, २३ जेठ। चितवनको भरतपुरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार ११ विजयी भएको छ । पत्रकार ११ ले ५–३ गोल अन्तरले जनप्रतिनिधि ११ माथि जीत हासिल गरेको हो। शुक्रबारदेखि भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा सुरु हुने पाँचौँ चितवन च्याम्पियनसिपको पूर्वसन्ध्यामा बिहीबार पत्रकार ११ र जनप्रतिनिधि ११ बीच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो।
सो खेलमा पहिलो हाफमा पत्रकार ११ र जनप्रतिनिधि ११ ले २–२ को बराबरीमा खेलेका थिए। खेलको दोस्रो हाफमा पत्रकार ११ ले ३ गोल थप गर्दा जनप्रतिनिधि ११ ले एक गोल मात्रै थप्न सक्यो। हनामी पाँचौँ चितवन च्याम्पियनसिप अन्तरगत शुक्रबारदेखि प्रतियोगितात्मक खेल हुने आयोजक एभरेष्ट फुटबल क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए। प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने कार्यक्रम रहेको सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए।
‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन्। प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गर्नेछ।
उक्त प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार पनेरुले जानकारी दिए। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ। फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।