काठमाडौँ, २४ जेठ। बिहीबार साँझ आएको हावाहुरीबाट कैलाली र कञ्चनपुरमा दुईजनाको मृत्यु भएको छ। १०० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा कैलालीस्थित गोदावरी नगरपालिकाका वीरबहादुर चौधरी र टीकापुरका लहानु चौधरी रहेको प्रहरीले जनाएको छ। हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन्। उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ। अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ।

कञ्चनपुरमा पनि हावाहुरीले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार २३ जना घाइते भएका थिए। तीमध्ये १५ जना सामान्य घाइते भएकोले उपचारपछि घर फर्किसकेका छन् भने ८ जनालाई धनगढी रेफर गरिएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भए पनि बाँकीको अवस्था मध्यम रहेको उनले बताए।
जनजीवन प्रभावित
हावाहुरीले दुवै जिल्लामा उत्तिकै नोक्सान पुरएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सयौँको संख्यामा रुखहरु ढलेका छन् भने घरका छाना उडाएका छन्। छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन्। सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ।

जिल्लाका विभिन्न स्थानमा दर्जनौंको संख्यामा बिजुलीका पोल भाँचिएको प्रहरीले जनाएको छ। बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ। प्रभावित क्षेत्रमा टेलिफोन सेवा पनि प्रभावित भएको छ। कञ्चनपुरमा पनि हुरीले भौतिक संरचनामा क्षति पुरयाएको छ। क्षतिको यकिन विवरण भने अझै पनि आउन बाँकी छ।