वासिङ्टन डिसी, २४ जेठ। बाल्टिमोरमा नेपाली राष्ट्रिय सम्मेलन हुने भएको छ। आउँदो जुलाई ५ देखि ७ तारिखसम्म हुने सम्मेलनको तयारी द्रुतगतिमा अगाडि बढाएको आयोजकले जनाएको छ। एएनए आन्मा, अनेसास र बानाको संयुक्त आयोजनामा हुन लागेको सम्मेलन तयारीको लागि २० वटा उपसमिति गठन गरिसकिएको बताइएको छ। डिसी महानगर क्षेत्रका २८ भन्दा बढी संघरसंस्थासँग समन्वय गरेर तयारी गरिएको बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। गत मे ११ मा यी चारवटै संस्थाले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका थिए।
सम्मेलनको संरक्षकमा भने महावाणिज्य दुत एवम् वरिष्ठ लोक गायक प्रेमराजा महतलाई राखिएको बानाका अध्यक्ष एवम् कार्यक्रम संयोजक सुबोधविलास पन्तले जानकारी दिए। उक्त सम्मेलनको लागि जनसम्पर्क अधिकारी तथा प्रवक्ताको रुपमा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीलाई जिम्मा दिइएको छ। उक्त सम्मेलन सबैको साझा सम्मेलन भएकोले यसलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न सबैलाई आव्हान गरिएको छ।