कञ्चनपुर, २५ जेठ। हावाहुरीका कारण क्षति व्यहोरेका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउन तथा पुनःस्थापनका कार्यक्रम अगाडि बढाउनका लागि आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरिएको छ। नगरपालिकाको विपत् व्यवस्थापन समितिको आकस्मिकरूपमा आज बसेको बैठकले एक करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको हो।
कोष स्थापनाका लागि नगरपालिकाको समपूरक कोषमा रहेको रकममध्ये ७५ लाख रुपैयाँ आपत्कालीन कोषमा राख्ने निर्णय गरिएको छ। विपत् व्यवस्थापन समितिको कोषमा यसअघि छ लाख रुपैयाँ रकम मात्रै रहेको थियो। हुरीपीडितको उपचार, राहत वितरण र पुनःस्थापनामा सो रकमले नपुग्ने भएपछि आपत्कालीन कोषमा थप रकम नगरपालिकाले जम्मा गर्ने भएको छ। कोषमा नगरपालिकाका ४९ जनप्रतिनिधिको एक महिना बराबरको सेवा सुविधाबापतको रकमसमेत जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताए।
कोषमा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरले एक महिना बराबरको तलब जम्मा गर्ने घोषणा गरेका छन्। ‘नगरपालिकामा कार्यरत कर्मचारीको पाउने पारिश्रमिकबाट समेत २५५ रुपैयाँ अनिवार्यरूपमा कोषमा जम्मा गर्ने र त्योभन्दा बढी रकम कर्मचारीले स्वेच्छिकरूपमा जम्मा गर्न सक्ने निर्णय गरिएको छ,’ वडा नं २ का अध्यक्ष जयनारायण जोशीले भने। विपतमा परेकाको उद्धार, उपचार तथा पुनःस्थापनाका कार्यमा नगरपालिकाले कार्य अगाडि बढाइसकेको र नगरवासी सबैमा हावाहुरीपीडित परिवारको सहयोगमा जुट्नसमेत जनप्रतिनिधिले आग्रह गरेका छन्।
नगरपालिकामा हावाहुरीका कारण दुई हजार बढी घरमा क्षति पुगेको छ। हावाहुरीका कारण आधा दर्जन बढी व्यक्ति घाइते भएका छन्। नगरपालिका कार्यालयले जनप्रतिनिधिलाई वडावडामा खटाएर हावाहुरीबाट क्षति व्यहोरेका परिवारको विवरण सङ्कलनको कार्यसमेत सुरु गरेको छ। -रासस