पर्वत, २९ जेठ। पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा मंगलबार राति आगालागी भएको छ। करिब १ बजेतिर विद्युत् चुहिएर आगलागी हुँदा रेडियोमा प्रयोग हुने सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ। आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए।
आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ। कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प नभएको शर्माले बताए। उनका अनुसार आगलागी भएपछि स्थानीय र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ। आगालागीबाट झण्डै ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आइनसकेको शर्माले बताए। तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति भने हुन पाएन। विसं २०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको रेडियो पर्वत यस क्षेत्रको पहिलो सामुदायिक रेडियो हो। -रासस