चितवन, २९ जेठ। अच्युतराज स्मृति प्रतिष्ठानले आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट शसस्त्र प्रहरी ओम सलामी मगरलाई पुरस्कृत गरिएको छ। बुधबार नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)मार्फत उनी नगद २५ हजारसहित पुरस्कृत भएका हुन्। विपद विरुद्धको काममा उल्लेख्य भूमिका निभाएको भन्दै उनलाई पुरस्कृत गरिएको हो। यस्तै सोही कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा शारदा रानाभाट कुँवर सम्मानित भएकी छन्। कुँवरलाई पनि विपदको समयमा स्वास्थ्य क्षेत्रबाट महत्त्वपूर्ण काम गरेको भन्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदीले बताए ।
बाँके घर भई चितवनमा जन्मेहुर्केका अच्युतराज सुवेदीले कामको सिलसिलामा राजधानी जाँदा २०७२ सालको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका थिए। उनैको सम्झनामा बुबा प्रकाश सुवेदी र आमा पूर्णाकुमारी सुवेदीले पुरस्कारको स्थापना गरेका हुन्। २०७४ सालबाट सुरु गरेको पुरस्कार र सम्मानअन्तर्गत यो वर्ष तेस्रो कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् स्वर्गिय अच्युतराजका बुबा प्रकाश सुवेदीले जानकारी दिए।