चितवन, २९ जेठ। नेकपाका नेता सुरेन्द्र पाण्डेले पार्टी एकताले मूर्त रूप लिन नसक्दा केन्द्रीय तहकै नेताहरू बेरोजगार भएर बस्नु परेको बताएका छन्। बुधबार भरतपुरमा भएको एक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालप्रति इंगित गर्दै भने, ‘केन्द्रीय तहकै नेताहरू बेरोजगार छौँ, एकवर्ष भइसक्यो बेरोजगार भएर बसेको। अब पनि कति बेरोजगार भएर बस्नु ?’ पार्टी एकता समयमै नभई फुर्सदमा बस्नुपर्दा एकवर्षको उर्जाशील समय त्यत्तिकै खेर गएको उनको भनाइ छ।
नेपाली युवाशक्तिले देशमा बेरोजगारको समस्या झेलिरहँदा यतिबेला नेकपाका नेता तथा कार्यकर्ता नै बेरोजगार भएर बस्नुपरेको हो। ‘ठूलै नेताले काम पाएका छैनन्,’ उनले भने, ‘त्यसैले अब पार्टीको आधिकारिक धारणा के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्छ।’ प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जानुअघि नेकपाका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने गरी शीर्षनेताहरू छलफलमा जुटेका थिए। पटकपटकको छलफलपछि पनि शीर्षतहमै सहमति जुट्न नसकेपछि केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडको विषयलाई प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किसकेपछि टुंगो लगाउने नेताहरूले बताएका छन्।
केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडको विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीचमा एकमत देखिए पनि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने फरक मत राख्दै आएका छन्। पार्टी एकीकरण भएको एकवर्ष बितिसक्दा पनि नेताहरूको जिम्मेवारी बाँडफाँडका साथै एकता प्रकृयाले मूर्त रूप नपाउँदा नेकपाभित्रै आलोचना हुने गरेको छ।