काठमाडौँ, ०१ असार। छाया सरकार एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारले ल्याएको गुठी विधेयकको विपक्षमा उभिएको छ। आइतबार काठमाडौँमा भएको सभामा सम्बोधन गर्ने क्रममा कांग्रेसका नेताहरू गुठी विधेयकको विरोधमा आवाज उठाए। नेता प्रकाशमान सिंहले सरोकारवालासँग छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्ने बताए। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाले आइतबार राजधानीमा आयोजना गरेको ‘विरोध सभा’लाई सम्बोधन गर्दै नेता सिंहले संसद्मा पेश गरिएको गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन्। ‘गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिको प्रहार गर्ने किसिमले आएको छ, यो कांग्रेसलाई मान्य हुँदैन,’ उनले भने।
सरोकारवालासँग छलफल र परामर्श नगरी गलत मनसायबाट गुठी विधेयक आएको उनको भनाइ छ। गुठी अधिकार सुरक्षित गर्न कांग्रेसले सदन र सडकमा आन्दोलन गर्नेसमेत उनले स्पष्ट पारे। ‘वर्तमान सरकारले गुठी विधेयकबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ उनले भने। सोही कार्यक्रममा बोल्दै पार्टीका सह–महामन्त्री डा प्रकाशशरण महतले भने सरकारले ल्याएको विधेयक कुनै हालतमा पनि कांग्रेसले स्वीकार गर्न नसकिने बताए। ‘सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार आयोग, गुठियारमाथि दमन गर्न खोजेको छ,’ उनले भने।
उनले नेपालको सभ्यता नेवार सभ्यताबिना असम्भव रहेको भन्दै नेवारको धर्म, संस्कृति परम्परालाई हस्तक्षेप गरे कांग्रेस कडारूपमा आन्दोलनमा उत्रने चेतावनी दिए। कांग्रेसकै अर्का नेता नवीन्द्रराज जोशीले गुठी विधेयकले धर्म परम्परा र जात्रामाथि प्रहार गर्न खोजेको आरोप लगाए। युवा नेता गगनकुमार थापाले गुठी विधेयकको नाममा नेपालको शान, सभ्यता र अस्तित्वमाथि सरकारले प्रहार गर्न खोजेको बताए। ‘संविधानले सनातनदेखि चलिआएको धर्म परम्पराको रक्षा गर्नुपर्छ भनेर उल्लेख गरे पनि सरकार संविधान विरोधी काम गर्न खोजिरहेको छ,’ उनले भने, ‘यसको बारेमा जनता चनाखो हुनुपर्छ।’