काठमाडौँ, ०२ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन्। ८ दिने युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताएका हुन्।
‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ। त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो, सबैतिर हैन। सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ उनले भने, ‘सरकार जनतालाई दुखी बनाउन चाहँदैन। खुसी भएको हेर्न चाहन्छ।यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन।’ कान्तिपुर दैनिकमा खबर छ। प्रधानमन्त्री ओली गत जेठ २५ गते युरोप भ्रमणमा गएका थिए।