काठमाडौँ, ०३ असार। नेपाली कांग्रेसले वि.सं. २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्न विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको हो। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उम्मेदवार बनेका, निजका प्रस्तावक एवंम् समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्ताहरुलाई कारवाही गरेको हो।
उनीहरुलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही गरिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए। उनीहरुलाई ६ वर्षका लागि कारवाही गरिएको समितिले जनाएको छ। वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन सबै जिल्लाहलाई तत्काल नामावली पठाईदिनसमेत निर्देशन गरिएको उनले बताए।