चितवन, ०४ असार। चितवन जिल्लालाई मेडिकल सिटीको रुपमा विकास गर्ने विषयमा लामो समयसम्म बहस भयो, जुन अझै जारी छ। स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचनताका सबैजसो उम्मेद्वारको साझा नारा थियो मेडिकल सिटी। देशभरका सबै जिल्लाको केन्द्र भागमा पर्ने भएकोले पनि चितवन जिल्लालाई मेडिकल सिटीको रुपमा विकास गर्न सहज हुने सबैको साझा धारणा हो। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताललगायतका ठूला अस्पताल एकै ठाउँमा छन्। दर्जनभन्दा बढी सुविधासम्पन्न अस्पताल यहीँ छन्, त्यसैले त भन्न सजिलो भएको चितवनलाई मेडिकल सिटी बनाउने भनेर।

तर, पतञ्जली योग समितिले भने रोग लागिसकेपछिको उपचार केन्द्रसँगै अबका दिनमा रोगै लाग्न नदिने अभियानमा लाग्नुपर्ने बताएको छ। यस विषयमा सरकारका तीनै तहबाट पहल गरे सम्भव हुने बताउँछन्, पतञ्जली योग समिति नेपालका केन्द्रीय संरक्षक ज्ञानेन्द्रबिक्रम महत। ‘खासमा हामीले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु राम्रो हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ’, उनले भने, ‘तर, त्यसको लागि सरकारले पनि एक खालको अभियान चलाउने र हामीले पनि आफैँबाट यसको सुरूवात गर्ने हो भने सबै नागरिक रोगमुक्त हुन सक्छन्।’ तर, पतञ्जली योगबारे अझै पनि धेरै मान्छे अनभिज्ञ रहेकोले प्रचारप्रसारलाई जोड दिनुपर्ने उनको भनाइ छ।
पछिल्ला केहीसमययता मानिसहरूले खानपानको सही तरिका नअपनाउँदा जानाजान रोगको शिकार बन्नुपरेको उनले बताए। ‘हिजो मान्छे खान नपाएर रोग लाग्थ्यो तर आज खान नजानेर रोग लाग्नेको संख्या धेरै छन’, समितिका सल्लाहकार उमाशंकर अग्रवाल भन्छन्, ‘त्यसैले योग अबको प्रमुख आवश्यकता हो।’ देशभरका सबै स्थानीय तहमा योगबारे प्रशिक्षण गराउनुपर्ने बेला आएको उनले बताए। योग दिवससमेत नजिकिएकोले यसबारे प्रचारप्रसार गर्नु आवश्यक रहेको उनको भनाइ छ। विश्वका विभिन्न मुलुकमा हरेक वर्ष जुन २१ तारिखलाई विश्व योग दिवसको रूपमा मनाउँदै आएको छ। सन् २०१४ बाट यो दिवस मनाउन थालिएको हो।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल मन्त्रका साथ पतञ्जली योग समितिले चितवनको भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा भव्य कार्यक्रम आयोजना गरी दिवस मनाउने तयारी गरिएको योग दिवस समारोह, प्रचारप्रसार उप–समिति संयोजक टंकनाथ पौडेलले जानकारी दिए।