चितवन, ०४ असार। विगत केही समयदेखि ट्राफिक प्रहरीको ध्यान ‘नो पार्किङ’तर्फ केन्द्रीत भएको छ। बजारको सुन्दरतासँगै ट्राफिक व्यवस्थापनको लागि भरतपुर महानगरपालिकासँगको समन्वयमा पार्किङ क्षेत्र निर्धारण गरिए पनि अटेर गर्नेलाई धमाधम कारवाही गर्न थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गएको तीन महिनामा मात्रै ‘नो पार्किङ’मा पार्किङ गर्ने ५६० जनालाई कारवाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीहरूबाट आठ लाख ४० हजार रूपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले जानकारी दिए। नो पार्किङसँगै कालोपत्रे सडकमा र सडक पेटीमा सवारी रोक्नेहरूलाई समेत ह्वील लक तथा चेन लकमार्फत कारवाहीको दायरामा ल्याइएको उनको भनाइ छ। यो तथ्यांक नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्मको दुरीमा मात्रै गरिएको कारवाहीको हो। अन्य क्षेत्रमा पनि कडाई गर्ने तयारी भइहरेको उनले बताए। पछिल्लो समय निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारी साधनमा ह्वील लकभन्दा चेन लक प्रभावकारी बन्दै गएको प्रनि गिरीले बताए।
मोटरसाइकलमा पनि ट्राफिकको निगरानी
ट्राफिक नियमको उल्लंघन गर्दै साइलेन्सर पाइप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकलसमेत ट्राफिक प्रहरीको निशानामा पर्ने गरेको छ। बजारमा ध्वनी प्रदुषण फैलिने गरि ठूला आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्ने क्रममा गएको तीन महिनामा ४६ जना मोटरसाइकल चालक ट्राफिक प्रहरीको फन्दामा परेका छन्। त्यस्ता मोटरसाइकलको साइलेन्सर पाइप जफत गरी प्रतिमोटरसाइकल एक हजार रूपैयाँका दरले ४६ हजार रूपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक गिरीले बताए।
सोही अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३२ जना पनि ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्। मापसे गरी सवारी चालाएका चालकहरूबाट पनि एक लाख ३२ हजार पाँचसय रूपैयाँ जरिवानास्वरूप राजस्व संकलन भएको उनले बताए। मापसे सवारी दुर्घटनाको मुख्य कारण भएकोले त्यसलाई न्यूनीकरण गर्न पनि कडाई गरिएको उनको भनाइ छ।