काठमाडौँ, ०५ असार। नेपालमा कूल २० हजार ८०८ जना शरणार्थी रहेको संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायोग (युएनएचसीआर)ले जनाएको छ। बुधबार जेनेभामा जारी गरिएको युएनएचसीआरेको रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ। यसबाहेक आश्रय खोजेका तर युएनएचसीआरले निर्णय गरिनसकेकाहरुको संख्या ५५, युएनएचसीआरको चासोमा रहेकाहरु ५४३ जनासमेत जम्मा २१ हजार ४०६ जना नेपालमा रहेका शरणार्थीलाई आफूले हेरिरहेको युएनएचसीआरले जनाएको छ।
युएनएचसीआरका नेपालस्थित कार्यलयका प्रवक्ता दीपेशदास श्रेष्ठले भुटान, तिब्बतसहित ११ देशका शरणार्थी रहेको बताए। उनका अनुसार भुटानका ६ हजार ५ सय तथा तिब्बतका करिब १४ हजार शरणार्थी नेपालका विभिन्न भागमा छरिएर रहेका छन्। १ लाख १३ हजार भुटानी शरणार्थी भने तेस्रो देशमा गएको उनले जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार अहिले भुटान र तिब्बत बाहेक ९ मुलुकका शरणार्थी छन्। उनीहरुको संख्या जम्मा सातसयको हाराहारीमा छ। अन्य देशका शरणार्थीमा सोमालिया, म्यान्मार, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, इरान, इराक, कंगो र बंगलादेशका शरणार्थी छन्।
विभिन्न कारणले गर्दा विश्वमा गएको वर्ष शरणार्थीको संख्या ७ करोड पुगेको युएनएचसीआरले जनाएको छ। यो संख्या युएनएचसीआरको ७० वर्षको अवधीमा सबैभन्दा बढी भएको उसले बुधबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। गएको वर्ष ७० दशमलब ८ प्रतिशत मानिस जबर्जस्ती लखेटिएको र २ दशमलब ३ प्रतिशत पहिलाकै वर्षका रहेको जनाइएको छ। २० वर्षअघि रेकर्ड गरिएका भन्दा यो संख्या दोब्बर रहेको जनाइएको छ। यो संख्याले दैनिक औसतमा ३७ हजार मानिस शरणार्थी बनिरहेको प्रतिवेदनमा उल्लेख छ।
विश्वमा अहिले तीन खालका शरणार्थी रहेको जनाउँदै युएनएचसीआरले पहिलो जबर्जस्ती लखेटिएका, दोस्रो आश्रय खोज्ने र तेस्रो आन्तरिक रुपमा विस्थापित भएको जनाइएको छ। विश्वकै दुई तिहाई शरणार्थी सिरिया, अफगानिस्तान, दक्षिणी सुडान, म्यान्मार र सोमालियाबाट भएको जनाइएको छ।