काठमाडौँ, ०५ असार। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा स्विट्जरल्यान्ड पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनबीच मलेसियाको श्रम समझदारीलाई कार्यान्वयन गरिने विषयमा छलफल भएको छ। शिष्टाचार भेटका क्रममा दुई देशबीच श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको लामो समय बितिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसकेको विषयमा उनीहरुबीच छलफल भएको हो।
मंगलबार साँझ भएको भेटमा दुई देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए। नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंग्याउने गरी छलफल भएको सहसचिव घिमिरेले बताएका छन्। जसका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक बस्ने मन्त्रालयले जनाएको छ। छलफलका क्रममा कामदार भर्नालगायत प्रक्रियालाई अगाडि बढाउन दुई देशले हालसम्म गरेका तयारीका बारेमा समेत छलफलमा जोड दिइएको थियो। नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको थियो।