चितवन, ०५ असार। व्यावसायीक प्रचारप्रसारको लागि बिजुलीको पोलमा राखिएका विभिन्न खालका बोर्डले बजारको सुन्दरता हराउनुका साथै दुर्घटनासमेत बढ्न सक्छ। कतिपय ठाउँमा मापदण्ड पुर्याएर महानरपालिकासँग स्वीकृति लिएरै बोर्ड राख्न दिइएको छ। तर, भित्री सकडहरूमा भने व्यवासायीक संघसंस्थाले आफूखुसी बोर्ड राख्न थालेका छन्। बिना स्वीकृत अनाधिकृत रूपमा बोर्ड राख्न नपाइने भन्दै भरतपुर महानगरपालिकाले बेलाबेला त्यस्ता बोर्डलाई हटाउँदै आएको छ।
यही क्रममा महानगरपालिकाले असार पहिलो साता भरतपुर नारायणगढ क्षेत्रका सडकमा राखिएका बोर्ड हटाएको छ। स्वीकृति नलिई राखिएका जस्तोसुकै बोर्ड पनि हटाउने गरिएको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख एवम् वरिष्ठ ई.विराट घिमिरेले बताए। ‘कुनै ठाउँमा इजाजत दिएरै राखेको छ। तर, कतिपय ठाउँमा विभिन्न भाषाको नाममा बिना स्वीकृत बोर्ड राख्दै हिँडेका छन्,’ त्यस्ता प्रचारात्मक बोर्डलाई हामीले तत्काल हटाउँदै आएका छौँ।’ प्रायः साँझको समयमा मान्छे लगाएर बोर्ड झुन्ड्याउँदै हिँड्ने गरेको उनले बताए।
भित्री सडकका पोलमा राखिएका बोर्ड हटाउन सम्बन्धित व्यवसायीलाई स्थानीयले नै आग्रह गर्दा अटेर गर्ने हुँदा यस्ता कार्यमा महानगरले नगर प्रहरी लगाएर हटाउने गरेको उनले बताए। पछिल्ला समय वातावरण संरक्षणमा सक्रिय समूहबाट वातावरण सरसफाइको लागि सकारात्मक काम हुँदै आएको महानगरले जनाएको छ। महानगरले मात्रै गरेर नभ्याइने स्थानमा त्यस्ता समूहले स्वतस्फूर्त सरसफाइमा ध्यान पुर्याउँदै आएको छ। बिजुलीका पोलमा फ्लेक्स राख्ने कामले पनि बजारको सुन्दरतालाई कुरूप बनाउँदै लगेकोले त्यस्ता बोर्ड हटाउनु महानगरको सकारात्मक कार्य भएको भरतपुर ४ का स्थानीय भोजनारायण कँडेलले बताए।
‘प्रचारप्रसार आवश्यक परे सञ्चारमाध्यममा जानुपर्छ,’ उनले भने, ‘तर सार्वजनिक स्थलमा जथाभावी प्रचार सामाग्री झुन्ड्याउँदा त्यसले बजारलाई कुरूप बनाइदिन्छ।’ झुन्ड्याउने बेलामा झुन्ड्याए पनि पुरानो भएपछि निकाल्न नआउने समस्याले गर्दा पनि बजारको सुन्दरतासँगै वातावरणमा असर पर्ने गरेको उनको बुझाई छ। अबका दिनमा बजारलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने हो भने नगरभित्रका कुनै पनि बिजुलीको पोलमा यस्ता सामाग्री राख्न दिन नहुने उनले बताए।
‘जनप्रतिनिधिहरूले हरेक कार्यक्रममा स्मार्ट सिटीको नारा लगाइरहँदा त्यस्ता कुरामा पनि विशेष ध्यान दिन जरूरी छ,’ उनले भने। विभिन्न दलले बेलाबेला निकाल्ने नारा जुलुसको बेला पनि पार्टीको झण्डा मुख्य बजारकै पोलमा बाँध्ने कामको समेत सबैले खुलेर विरोध गर्नुपर्ने उनको भनाइ छ।