सर्लाही, ०५ असार। सर्लाहीको लालबन्दीमा प्रतिबन्धित समूह विप्लव नेतृत्वको नेकपा माओवादी समूहका जिल्ला इन्चार्ज मारिएका छन्। प्रहरीसँगको भिडन्तमा चन्द समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका हुन्।
लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा जिल्ला इञ्चार्ज पौडेलको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिए। अन्य ३ जना भने भाग्न सफल भएका छन्।
मृतक पौडलको साथबाट प्रहरीले सिक्स एमएमको रिभल्भर बरामद गरेको छ। सोही हतियारले प्रहरीमाथि गोली चलाइएको थियो। साथमा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोलसमेत भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिए। विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। अहिले थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
को हुन् कुमार पौडेल ?
साविक सर्लाही ढुंग्रेखोला गाविस हाल बाग्मती नगरपालिका–२, धरहरा घर भएका ४७ वर्षीय कुमार पौडेल माविस्तरको पढार्इ सकेपछि २०५० सालतिर सर्लाहीको कालिञ्जोर गाविसमा प्रविधिक सहायकमा सरकारी सेवा प्रवेश गरेका थिए। उनी २०५२–५३ सालताका त्यहाँबाट सरुवा भएर साविकको ढुंग्रेखोला गाविस घरनजिकै जागिर खान आइपुगे।
सुरुका दिनमा नेपाली कांग्रेससँग नजिक रहेका उनी पछि नेकपा एमालेको युवा संगठनमा रहेर झण्डै ८ वर्ष काम गरे। त्यसपछि पौडेल २०६४ सालमा चुरेभावर पार्टीका जिल्ला अध्यक्ष बनेका थिए। चुरे भावर पार्टीभित्र विवाद हुन थालेपछि उनी पार्टी छोडेर २०६६ सालमा नेकपा माओवादीमा प्रवेश गरेका हुन्।
उनलाई नेकपा माओवादीमा प्रवेश गराउन पूर्व प्रधानमन्त्री तथा तत्कालीन वरिष्ठ नेता बाबुराम भट्टराई र सचिव सीपी गजुरेल सर्लाही आइपुगेका थिए। मओवादीमा रहेर झण्डै चार वर्ष काम गरेका उनले त्यसपछि एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य ‘किरण’ बीचको पार्टी फुटेपछि उनी वैद्यमा गएका थिए।
दोस्रो संविधान सभाको चुनावमा वैद्य समूहमा रहेर उनले चुनाव बहिष्कारमा ठूलो भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी वैद्य र विप्लवबीचको पार्टी फुटेपछि विप्लव नेतृत्वको नेकपामा गएका थिए। २०७४ सालमा सिन्धुलीको कमाण्ड सम्हालेका पौडेल पछिल्लो समय सर्लाही इञ्चार्ज बनेका थिए।