चितवन, ०६ असार। उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताएका छन्। पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा चितवनको भरतपुरमा आयोजना गरेको योग शिविरको उद्घाटन गर्दै उनले भने, ‘योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहनमा मद्दत पुर्याउँछ।’
विश्वभरका मानिसहरु कुनै न कुनै रोगसँग जुधिरहेका उदाहरण सुनाउँदै उपराष्ट्रपति पुनले थपे, ‘हरेक मानिस रोग लाग्नबाट कसरी बच्ने भनेर विभिन्न विकल्पको खोजीमा छन्। आजको विश्वमा मानिसले ठूला–ठूला भौतिक सुखसयल प्राप्त गरेका भए पनि ती मानिसहरू आत्मिक शान्ति, मानसिक सुखको खोजीमा छन्।’ योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे यससँग सम्बन्धित विज्ञहरूले भिन्नभिन्न कोणबाट तर्क गरेको उनको भनाइ छ।

‘विद्वानहरूले योगको सुरूवात शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको बास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गर्दै आएका छन्’ उनले भने, ‘वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट प्राचीनकालमा मानिसले मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति गर्ने गरेको मानिन्छ।’
योगको परिभाषा जे भए पनि यो एउटा विज्ञानको रूपमा स्थापित भएको भन्दै उनले केही दिनअघिमात्रै एक विज्ञले आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलीको जन्म नेपालको अर्घाखाँची जिल्लामा भएको प्रमाणसहित दावी गरेको जानकारी गराए। नेपालबाट फैलिएर अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेको र संयुक्त राष्ट्रसंघको ६९औँ महासभाले जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको हो।