सर्लाही, ०६ असार। प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको नियन्त्रणपछि हत्या भएको परिवारले दाबी गरेका छन्। ‘बिहिबार दिउँसो सर्लाहीको लालबन्दीबाट काम सकेर सिन्धुली जाँदै गरेका बेला बाटोमा प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको हो, पौडेलका बाबु खिलराज पौडेलले दाबी गर्दै भने, ‘देशमा अहिले मान्छे मार्न पाउने कानुन बनेको छ ? नत्र मेरो छोरालाई प्रहरीले समातेर किन मारेको हो, त्यसको सत्यतथ्य छानबिन हुनुपर्छ, गल्ती गर्नेलाइ कानुन अनुसारको कारबाही हुनुपर्छ, तर मार्न पाइँदैन।’
उनले छोराको मृत्युबारे अहिलेसम्म प्रसाशनले कुनै जानकारी नदिएको भन्दै घटनास्थलतर्फ जाँदै गर्दा प्रहरीले जान रोकेपछि आफू फर्केर घर आएको बताए। बिहीबार दिउँसो सादा पोसाकमा खटिएका प्रहरीले घटनास्थलमा सर्वसाधारणलाई समेत जान नदिएको स्थानीयको भनाइ छ। सर्लाहीको लालबन्दी नगरपालिका १, चन्द्रपुर जंगलमा बिहीबार दिउँसो प्रहरीसँगको दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दावी गरेको छ।
स्थानीयले भने दिउँसो पौने दुई बजेतिरको घटना भए पनि आफूहरुले दुई घण्टापछि थाहा पाएको र जंगलमा दिउँसो दोहोरो गोली हानाहानको आवज नसुनेको बताएका छन्। बाटोमा बसेका ४/५ जना मान्छेले आफूहरुलाई जंगल नजानु भनेर रोकेको गोठालाहरुले बताएका छन्। मृतक पौडेललाइ टाउको र हातमा दुई गोली लागेको र दुबै हात भाँच्चिएको बताइएको छ। पौडेललाई समातेर गोली हानेको दावी गर्दै स्थानीयले भने त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्। मृतक पौडेलका १२ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छन्।