काठमाडौँ, ७ असार। टीकापुर हत्याकाण्डको अभियोगमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति विभिन्न खालका टिप्पणी हुन थालेका छन्। त्यसो त विभिन्न कारण विवादित बन्दै आएको केपी ओली नेतृत्वको बर्तमान सरकार रेशम चौधरीको खुट्टामा नेल लगाएको विषयलाई लिएर थप विवादित बन्न थालेको छ। यही विषयलाई लिएर सामाजिक सञ्जालमा राम्राभन्दा नराम्रा टिप्पणी बढी आउन थालेका छन्।
यही क्रममा समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत सरकारको देखाएको रवैया आपत्तिजनक भएको बताएका छन्। मेरुदण्डको समस्यापछि वीर अस्पतालमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले पनि सरकारी रवैयाको आलोचना गरेका हुन्। चौधरीलाई भेट्न शुक्रबार वीर अस्पताल पुगेका डा भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानुनबारे स्मरण गराए।
‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो?’, आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्। चौधरीलाई लगाइएको नेलसँग जोडेर भट्टराईले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै तत्कालीन माओवादीका नेताहरूले व्यवस्थाविरूद्धको संघर्षका क्रममा कष्टकर जेलजीवन व्यतीत गरेका थिए। विगतमा व्यवस्थाविरूद्ध संघर्ष गरेका नेताहरूले शासकबाट भोगेका यातना स्मरण गराउँदै बाबुरामले प्रश्न गरेका छन्, ‘आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिट्टै बिर्सेका?’ साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन्।
यसैबीच, डा भट्टराईले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज मृत्युप्रकरणबारे समेत चासो व्यक्त गरेका छन्। सरकारले दोहोरो भिडन्तका क्रममा विप्लवका सिरहा इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताउँदै आए पनि विप्लव माओवादीले उक्त विषय स्वीकार्न तयार छैनन्। त्यसैले उक्त घटनाबारे स्वतन्त्र छानबिन गर्नसमेत सरकारसँग माग गरेका छन्।