चितवन, ०८ असार। नेपालका उद्योगी, व्यवसायी तथा बैंकिङ क्षेत्रका विज्ञहरुले देशको व्यापार घाटा कम गर्नतर्फ सरकारले ध्यान पुर्याउनुपर्ने बताएका छन्। आइतबार चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेज र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा भएको ‘यस वर्षको बजेट र यसका चुनौतीहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद्हरुले देशको व्यापार घाटा कम गर्न सरकार सचेत नभए अर्थतन्त्र नै टाट पल्टने अवस्थामा पुग्न सक्नेसमेत चेतावनी दिए। देशमा लगानीको उचित वातावरण बनाएर बेरोजगारी र व्यापार घाटालाई रोक्न नसक्ने हो भने देशको अर्थतन्त्र धरासायी बन्ने खतरा रहेको विज्ञहरुको भनाइ थियो।
कार्यक्रममा देशको व्यापार घाटा विगत २० वर्षमा ३० प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको तथ्यांक नै पेस गरेका थिए। नेपाली अर्थतन्त्रका सूचकहरु सन्तोषजनक नभएको नेपाल राष्ट्र बैँकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए। देशमा बढ्दो भ्रष्टाचार तथा संस्थागत सुशासनको अभावले देशले लक्ष्यअनुसारको समृद्धि हासिल गर्न नसकेको उनको भनाइ थियो। ‘सरकारले बजेटमा राखेको आर्थिक वृद्धि दरको लक्ष्य सजिलै प्राप्त हुन कठिन देखिन्छ,’ उनले भने, ‘यदि देशमा दोहोरा अंकको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने शतप्रतिशत नागरिकलाई विधुत् सेवा, प्रविधिको प्रयोगमा जोड, आन्तरिक ऋण लगानी र सुशासन जस्ता विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ।’ संस्थागत सुशासनको अभाव र ढिलासुस्ती रहेसम्म देशमा अपेक्षितरुपमा विदेशी लगानी भित्र्याउन नसकिने थापाको भनाइ छ।
वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा केशवभक्त सापकोटाले यसवर्षको बजेटमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि सो अनुसारको देशमा आवश्यक पूर्वाधारहरुको विकास हुन नसकेको बताए। ‘वि.सं. २००८ सालदेखि नै देशमा सरकारले बजेट ल्याउने प्रचलन सुरू भए पनि सबैभन्दा ठूलो समस्या कार्यान्वयन नै देखिएको छ,’ उनले भने, ‘देशमा कति सुशासन छ भन्ने उदाहरण त मेलम्ची आयोजनाको निर्माण गतिले पनि स्पष्ट पारिसकेको छ नि।’ आफ्नो धारणा राख्दै ग्लोबल आईएमई बैँकका पूर्वसीईओ जनक शर्मा पौडेलले भने देशको विकासमा गरिबी केन्द्रीत बजेट विनियोजित नभएको टिप्पणी गरे।
‘देशमा विकासको अनुगमन संयन्त्रको अभाव, भष्टाचार, अस्थिर आर्थिक नीति, असुरक्षाको अनुभवले देशमा वैदेशिक लगानी घट्दै गएको छ,’ उनले भने, ‘सरकारले बैंकहरूलाई वैदेशिक ऋण लगानी गर्न सक्ने अधिकार दिए पनि डलरको भाउमा ऋण लिएर नेपालमा लगानी गर्ने वातावरण नै छैन।’ प्रजातन्त्र भएको देशमा मात्र वैदेशिक लगानी आउँछ भन्ने सोच नै गलत भएको उनको भनाइ छ। ‘चीनमा अहिले विश्वभरका लगानीकर्ताहरु आकर्षित हुनुको मुख्य कारण लगानीको सुरक्षा नै हो,’ उनले भने।
चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले देशमा अझै पनि लगानी गर्ने वातावरण नबनेको बताए। ‘जसले गर्दा उपल्लो क्षेत्रको वर्गले लगानी गर्न चाहिरहेकै छैन,’ उनले भने, ‘त्यसैले देश विकासले पनि सोचेजस्तो गति लिन सकेको छैन।’ आर्थिक क्षेत्रमा विकृति नै कम गर्न नसकेको उनको तर्क थियो। कच्चा पदार्थमा तयारी पदार्थभन्दा कर बढी लगाउने, निजी क्षेत्रको लगानी र भूमिकालाई अवमूल्यन गरेसम्म देशमा औधोगिक लगानी गर्ने वातावरण नबन्ने दाबी गरे।
‘१२ प्रतिशत व्याजमा उद्योगीहरूले लगानी बढाउन सक्दैनन्, त्यसैले सरकारले अनुदान दिनुपर्छ,’ उनले भने। देशको अर्थतन्त्रमा प्रत्येक वर्ष कृषि क्षेत्रको योगदान घट्दै जानु र वार्षिक १५ अर्बको तरकारी निर्यात हुनु आफैमा दुःखद भएको विज्ञहरू बताउँछन्। कार्यक्रममा बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्द, नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल, त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक निर्मलकुमार शर्मा, चितवन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य यमबहादुर विकलगायतले आ–आफ्ना धारणा राखेका थिए।