चितवन, ०८ असार। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासले मात्रै मुलुकमा समृद्धि सम्भव भएको बताएका छन्। चितवनको भरतपुरस्थित पाँचौँ ‘हानामी चितवन च्याम्पियनशिप’को आइतबार भएको समापन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले अन्य देशको विकास खेलका माध्यमले भएको उल्लेख गरे।
नेपालमा पनि खेल क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। खेल क्षेत्र राष्ट्रिय एकता, राष्ट्रिय अनुशासन, सभ्यता र पहिचानको आधार रहेकाले खेलकै कारण विश्वमा पहिचान रहने तथा आर्थिकरूपमा समृद्धि हाँसिल गर्न सहज हुने उनले बताए। ‘निजी क्षेत्रबाट सञ्चालन हुने प्रतियोगितालाई राज्यले सहयोग गर्छ,’ उनले भने। –रासस