चितवन, ०८ असार। चितवनको भरतपुरमा सम्पन्न ‘पाँचौँ हानामी चितवन च्याम्पियनशिप’को उपाधि अभिशेक चर्च रजहरले जितेको छ। रजहरले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई २–१ गोलले हराउँदै उपाधिसँगै तीन लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो। उप–विजेता शिक्षालयले एक लाख ५० हजार तथा तृतीय भएको जु फुटबल क्लब जुगेडीले ५० हजार नगद पुरस्कार हात पारे।
अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी योनिकले दोस्रो हाफको २१ र ३५ मिनेटमा दुई गोल गरेका थिए। प्रतियोगिता सुरू भएको ११औँ मिनेटमा पुलिसका तर्फबाट सन्तोष हेमरुनले एक गोल गरे पनि प्रहरीलाई जिताउन सकेनन्। उक्त प्रतियोगितामा अभिषेक चर्च रहजरका खेलाडी अजित गुरूङ म्यान अफ दी सिरिज घोषित हुँदै नगद २० हजार पुरस्कार प्राप्त गरेका छन्। जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरूङ बेस्ट मिड फिल्डर, अभिषेक चर्चका मानबहादुर तामाङ बेस्ट डिफेन्स, अभिषेक चर्चका विदेशी खेलाडी योनिक बेस्ट स्कोरर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोल रक्षक भए।
फरक–फरक विधामा उत्कृष्ट भएका चारै जना खेलाडीले १० हजार रूपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा स्थानीय आठसहित १६ वटा समूह सहभागी थिए। एभरेष्ट क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरस्कार पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालमार्फत वितरण गरिएको हो।