चितवन, ०९ असार। नारायणगढ–मुग्लिन सडकमा बनाउन लागिएका थप १५ वटा पुलको निर्माण कार्य अनिश्चित बनेको छ। सडक निर्माणको काम सकिए पनि कानुनी अन्योलताका कारण सडकमा रहेका पुल निर्माणको काम टुंगो लाग्न नसकेको हो। १९ वटामध्ये चारवटा पुलको काम भने निर्माण सम्पन्न हुने क्रममा छ। जलवीरेबाहेक अन्य तीन ठाउँको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सडक विभागअन्तर्गत पुल महाशाखाका निर्देशक दीपक भट्टराईका अनुसार पुल निर्माणसम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कनमा देखिएको अन्योलताले पुल निर्माण कार्य अन्यौलमा परेको हो।
कानुनी झन्झटलाई फुकाउनकै लागि विभागले मन्त्रिपरिषद्मा पुल निर्माणसम्बन्धी प्रस्ताव लगेको छ। ‘हाम्रो प्रस्तावअनुसार ‘डिजाइन एण्ड विल्ड’कै अवधारणामा निर्माण व्यवसायीले नै डिजाइन गर्दै वातावरणीय प्रभाव मूल्याङ्कन गराएर पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन सकियो भने सहजै पुल निर्माणको काम अघि बढ्नेछ’, उनले भने, ‘नारायणगढ–मुग्लिन सडकको विस्तारसँगै पुल पनि विस्तार हुनुपर्ने आवश्यकता भए पनि कानुनी झन्झटका कारण यो समस्या लम्बिरहेको छ।’
देशकै लाइफलाइनको रूपमा हेरिएको नारायणगढ–मुग्लिन सडकको पुनःनिर्माणको काम सकिए पनि त्यहाँ रहेका पुल भने निर्माण हुन नसक्दा यो सडकमा रहेका जीर्ण पुलहरूले जोखिम बढाउनुका साथै यात्रालाई समेत असहज बनाएको छ। अहिले बनाइँदै गरेका चारवटा पुलको पनि चौडाइ ११ मिटर छ। यी पुल बनाउन विश्व बैंकले नेपाल सरकारलाई २५ करोड रूपैयाँ सहयोग गरेको छ।