चितवन, ०९ असार। चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अझै पनि सञ्चालनमा आउन सकेको छैन। जेठ १५ गते स्थानीयको सक्रियतामा रंगाशालाको बारमा डोजर लगाइएपछि रोकिएको काम अझै सुचारू हुन नसक्दा आम जनमानसमा रंगाशाला बन्छ या बन्दैन भन्ने अन्योलता पनि बढ्दै गएको छ। स्थानीयले गल्तीको महसुस गर्दै निर्माण कार्यमा आउन आग्रश् गरिरहेका छन्। भरतपुर महानगरपालिकासहित केन्द्र र प्रदेश सरकारले पनि काम सुचारू गर्न निर्देशन दिइसकेको छ।
तर, निर्माणकर्ता ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीतारम कट्टेल (धुर्मुस)ले भने अझै पनि काम गर्ने वातावरण नबनेको बताउँदै आएका छन्। यही क्रममा भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार महानगरपालिकाले रंगाशाला निर्माणको लागि पाँच करोड रूपैयाँ विनियोजन गर्ने तयारी गरेको छ। उनका अनुसार प्रदेश सरकारले भने पाँच करोड रूपैयाँ रकम विनियोजन गरिसकेको छ।
महानगरभित्र रहेका २९ वटा वडाले पाँच÷पाँच लाख रूपैयाँका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन्। बहुवर्षीय योजना भएकाले महानगरले सुरूवाती रकमका रूपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरू थप रकम विनियोजन गर्ने देखिएको छ। महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै संघ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम सुरू भएको जानकारी दिइन्। जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताए।
फाउण्डेशन र सरकारी निकायले केरूके गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ। जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मकरूपमा अघि बढेका छन्। रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो। भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। –रासस