हुम्ला, ०९ असार। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले पार्टीको बैठकमा भाग लिन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाको पहिलो जिल्ला कमिटि बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट सिमकोट र सिमकोटबाट कालिकोटको यात्रा गरेका हुन्।
हरेक दिन नेपालगञ्ज र सुर्खेतबाट नियमित २ दर्जनभन्दा बढी हवाई उडान भइरहेका बेला मुख्यमन्त्री र मन्त्रीले पार्टी बैठकमा भाग लिन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन्। गत शनिबार सम्पन्न हुम्ला जिल्ला कमिटिको बैठकका लागि नेपाली सेनाको नाइन एन आरए आई हेलिकोप्टरबाट प्रदेश राजधानी सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटि अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल सिमकोट पुगेका थिए। एक दिन सिमकोट बसेका मुख्यमन्त्री शाहीलगायतका नेता सोही हेलिकोप्टरमा सिमकोट हुँदै कालिकोट फर्किएका छन्।
आपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा बस्ने हेलिकोप्टरलाई मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले पार्टी कार्यक्रमका लागि प्रयोग गरेका हुन्। नेकपाको बैठकको मौका पारेर हुम्लाको ताँजकोट गाउँपालिकामा ८ गते हुने भनिएको मदिरा मुक्त गाउँपालिका घोषणा कार्यक्रम गर्ने, सोही कार्यक्रमका लागि मुख्यमन्त्री शाहीसहितका नेकपा नेताहरूलाई समेत निमन्त्रणा गरेर ताँजकोट गाउँपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले व्यहोर्ने भनिए पनि घोषणा कार्यक्रम नभएपछि पार्टी कामकै लागि हेलिकोप्टर प्रयोग भएको हो।
ताँजकोट गाउँपालिका अध्यक्ष बगदल मल्लले मदिरा मुक्त कार्यक्रम नभएकाले गाउँपालिकाबाट भुक्तानी नहुने बताए। पार्टीको कार्यक्रममा मुख्यमन्त्री र मन्त्री आएकोले पार्टीले नै व्यहोर्नुपर्ने मल्लले जानकारी दिए। हेलिकोप्टरको भाडा कस्ले व्यहोर्ने भन्ने बारेमा सामाजिक विकास मन्त्रालयले पनि अनभिज्ञता प्रकट गरेको छ। ‘मन्त्री ज्यू गएको मात्रै जानकारी छ,’ मन्त्रालयका सूचना अधिकारी मणिराम खनालले भने, ‘हेलिकोप्टरको भाडाका बारेमा कुनै जानकारी छैन।’
सामाजिक विकास मन्त्रालयका लेखा प्रमुख लालबहादुर खत्रीले मुख्यमन्त्री, सामाजिक विकास मन्त्री सवार हेलिकोप्टरको भाडा ताँजकोट गाउँपालिकाले व्यहोर्ने कुरा मन्त्रीबाट आफूले जानकारी पाएको बताए। प्रति घण्टा १ लाख २० हजारका दरले भाडा लिने नोपाली सेनाको हेलिकोप्टर पार्टी कार्यक्रममा २ दिन होल्ड भएको सेनाको एक स्रोतले जानकारी दिएको छ। ७ गते शनिबार बिहान ११ बजे सिमकोट पुगेको हेलिकप्टर ८ गते अपरान्ह साढे ५ बजे सिमकोटबाट कालिकोट हुँदै सुर्खेत फर्केको थियो।