नवलपुर, १२ असार। गैँडाकोटको कालीगण्डकी चोकबाट ९ देखि १० किलोमिटरको दूरीमा पर्छ ढोडेनी गाउँ। तर, यहाँका स्थानीय गैँडाकोटसम्म किनमेलको लागि आउँदा पनि एकतर्फी भाडा एकसय रुपैयाँ तिर्न बाध्य छन्।
दुई दशकअघि नै ट्रयाक खनेको कालीगण्डकी करिडोरको स्तरोन्नति हुन नसक्दा स्थानीय वर्षौँदेखि समस्यामा परेका हुन्। अहिले उक्त करिडोरमा बलेरो जिपलगायतका साना सवारीसाधन मात्रै चल्छ। ‘ठूलो गाडी चल्ने बाटो नहुँदा ९ किलोमिटरको एकतर्फी भाडा पनि एकसय रूपैयाँ तिर्नुपर्छ,’ स्थानीय कृष्ण विश्वकर्मा भन्छन्, ‘बजारसम्म केही सामान लैजान र ल्याउन पनि सामानको मूल्य बराबरको भाडा पर्छ।’
बाटोको राम्रो सुविधा भए शिक्षा, स्वास्थ्यको सुविधाबाट नजिक हुने उनको बुझाई छ। ‘बाटोकै कारण बजारमा डेरा गरेर पढ्न नसक्ने विद्यार्थीको लागि बीचैमा पढाई छाड्नुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘स्वास्थ्यमा त्यस्तै समस्या छ।’ कृषि उत्पादन गरेर पनि यातायातको सहज पहुँच नभएकोले बजारसम्म पु¥याउन समस्या भएको उनको भनाइ छ।
बाटोकै कारण आफ्नै नगरपालिकासम्म पुग्न पनि समस्या परेको बताउँछन्, कृष्णगण्डकी माविका प्रधानाध्यापक सूर्यनाथ तिवारी। ‘काम पर्दा नगरपालिकासम्म पुग्न पनि समस्या छ,’ उनी भन्छन्, ‘जानै पर्दा पनि बलेरो जिपमा असहज यात्रा गर्नुपर्छ, त्यो पनि महँगो भाडा तिरेर।’ केही समयअघि कृष्णगण्डकी माविबाट फूटबल प्रतियोगीतामा सहभागी भएर फर्किँदा विद्यार्थी बोकेको जिप दुर्घटना भएको २१ जना विद्यार्थी घाइते भएको घटना सम्झँदै उनी थप्छन्, ‘बाटोको सहजता भएको भए त्यतिखेर दुर्घटना नहुन सक्थ्यो।’
बाटोकै समस्याले गर्दा सहज यात्रा गराउन नसकेको बलेरो जिप चालक रवीन्द्र पोखरेलले बताए। ‘हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्य हुने समस्याले जानआउन समस्या छ,’ उनले भने, ‘जसले गर्दा डराईडराई यात्रा गर्नुपर्ने स्थिति छ।’ राज्यको बागडोर सम्हाल्न सत्तामा पुगेका नेताहरूको कमजोरीले गर्दा सडक स्तरोन्नति हुन नसकेको बताउँछन्, उनी।
‘कतिपल्ट शशांक कोइरालाले चुनाव जिते, तर गाउँ फकिएनन्,’ उनले भने, ‘यदी नेताहरूले चाहने हो भने राष्ट्रिय गौरवकै बाटोलाई यसरी अलपत्र पारेर किन छाड्थे होला र ?’ नवलपुरबाट पाल्पा हुँदै मुक्तिनाथसम्म जोड्ने बाटो भएकोले यसको स्तरोन्नतिको लागि केन्द्रीय सरकारले नै ध्यान दिनुपर्ने उनको बझाई छ।
गैँडाकोट ३ का वडा अध्यक्ष शिव तिवारीले भने बहुवर्षिय आयोजनाअन्तर्गत काम सुरू भएको बताए। १३२ किलोमिटर बाटोको लागि केन्द्र सरकारबाट बजेट स्वीकृत भइसकेकोले अबको तीनवर्षभित्र सडक स्तरोन्नति भइसक्ने उनको भनाइ छ। ‘कालीगण्डकी चोकदेखि पाल्पाको पिपलडाँडासम्मको लागि १२ मिटर चौडा हुने गरी स्तरोन्नति गर्न बजेट परिसकेको छ,’ उनले भने, ‘तीनवर्षमा काम सम्पन्न गर्ने गरी गएको आर्थिक वर्षको बजेट परेको हो।
त्यसैले सडकलाई फराकिलो बनाउने काम सुरु भइसकेको छ।’ विकासको हरेक गतिविधिमा बाटो नै मुख्य समस्या भएकोले सबैभन्दा पहिले बाटोकै बिस्तार गर्नुपर्ने उनले बताए। ‘बाटोको विकास भइसकेपछि स्थानीयस्तरमा जुनसुकै व्यवसाय गर्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘त्यसपछि शिक्षा, स्वास्थ्य, खानेपनी जस्ता विकासका पूर्वाधारले गति लिन सक्छ।’