चितवन, १३ असार। तत्कालीन भरतपुर नगर पञ्चायतका मेयर मुक्तिलाल चुकेको निधन भएको छ। वि.सं.१९९२ कात्तिक १ गते गुल्मीको बामीटक्सारमा जन्मिएका उनी करिब डेढ दशकदेखि अस्वस्थ थिए। नेपाली कांग्रेसको राजनीतिमा सक्रिय चुकेले विद्यार्थीकालदेखि नै पार्टीको विभिन्न आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका थिए।
पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापतिद्वय स्वर्गीय सुशील कोइराला र स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग पारिवारिक सम्बन्ध राखेका चुके वि.सं.२०२८ देखि २०३२ सालसम्म राष्ट्रिय पञ्चायतको सदस्य र २०३५ साल, २०३९ साल र २०४८ सालमा क्रमशः तीनपटकसम्म भरतपुर नगरको मेयर भएर काम गरेका थिए।
वि.सं.२०१८ सालताका हालको भरतपुर ११ गणेशथानको मन्दिरलाई पुनर्निर्माण गरेर सामाजिक काममा सक्रिय हुँदै नेपाली राजनीतिमा पनि सक्रियता बढाउँदै आएका चुके जीवनभर समाजसेवा र राजनैतिक सहभागिताद्वारा विकास गर्न सकिन्छ भनेरै लागि परेर हिँडेका थिए।
वि.सं.२०६२ सालमा मर्निङ वाक गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएपछि अस्वस्थ भएर घरमै आराम गरेर बसिरहेका थिए। सोही क्रममा शुक्रबार बिहान करिब १२ बजे आफ्नै निवासमा निधन भएको हो। परिवारका सदस्यहरू जिल्ला बाहिर रहेकाले शनिबार मात्रै अन्त्यष्टि गरिने परिवारले जनाएको छ।