चितवन, २२ असार। गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउन सक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनावद्ध रूपमा कारवाही गर्नुपर्ने बताएका छन्।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७५औँ समूहको आइतबार भएको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले भने, ‘विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारवाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा आफू विश्वस्त छु।’
दीक्षित भई जाने प्रहरीको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको उनले बताए। ‘यो जिम्मेवारी वहनका क्रममा हुने सानो भूल वा लापरवाही सिङ्गो प्रहरी सङ्गठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ,’ उनले भने, ‘प्रहरी कुनै पनि घटनाको पहिलो साक्षी, अनुसन्धानकर्ता र न्यायाधीश भएकोले प्रहरीले गरेका हरेक क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चितता हुने र कुनै लापरवाही गरेमा अभियुक्तले छुट पाउन जाने अवस्थासमेत आउन सक्छ। त्यसतर्फ सधैँ सतर्क हुनु जरुरी छ।’
महिला, दलित एवम् समाजका सीमान्तकृत समुदायप्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने गरेको भन्दै उनले भने, ‘यस्ता कार्यलाई समाजबाट निरुत्साहित गर्न र पीडकलाई दण्डित गर्न दीक्षित भई जाने प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ।’ कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रभाव र प्रलोभनले व्यावसायिक जीवन धूमिल पार्ने हुँदा यसतर्फ सचेत रहन निर्देशन दिए।
कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिए। हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन्। सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थी एवम् प्रशिक्षकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो। -रासस