काठमाडौँ, २२ असार। नेपाली कांग्रेसले पार्टी विधानको धारा ७२ (४) बमोजिम पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ।
कांग्र्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले उक्त कार्यसूची प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसबाहेक बैठकमा महामन्त्री खड्काले नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्ने, विधानबमोजिम क्रियाशील सदस्यता नवीकरण एवम् वितरणसम्बन्धी, पहिलो चरणको राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत प्रस्तुत गरिएको पार्टी कार्यालयले जनाएको छ।
कांग्रेसले गत वैशाख २५ देखि जेठ २५ गतेसम्म मुलुकभर एकसाथ पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको थियो। त्यस्तै बैठकमा कांग्र्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्यप्रगति विवरण प्रस्तुत गर्ने, केन्द्रीय अनुशासन समितिद्वारा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्ने, कांग्र्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि प्रस्तुत गरिएका छन्।
–रासस