चितवन, २६ असार। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी सोलुखुम्बुका सेक्रेटरी शिवा खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ। चितवन जिल्लामा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खड्कालाई बिहीबार चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं.२ खाल्पा माइती भएकी खड्का २०७१ साल मङ्सिर ८ गते बिप्लव समूह गठन भएदेखि नै उक्त पार्टीमा आवद्ध रही पार्टीको महिला केन्द्रीय सदस्य, कोशी ब्युरो संयोजक हुँदै विगत १ बर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। खड्कामाथि थप अनुसन्धान भइरहेको उनले बताए।