काठमाडौँ, २७ असार। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रका राजमार्ग अबरुद्ध बनेका छन्। सडकमा पहिरो खसेका कारण राजमार्ग अबरुद्ध बनेको हो। प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डमा बाटोमा पानी आएर साना गाडी नचल्ने अवस्थामा छन्।
पूवपश्चिम राजमार्गकै सनुसरी रामधुनी ६ मा पनि सडक अबरुद्ध छ। धनकुटा पाख्रिवाट ७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी चुवाचुङ सडकखण्ड पनि ठप्प रहेको जनाइएको छ। ओखलढुंगाको मनेमञ्ज्याङ ७, सिन्धुलीको गोलञ्चोर ५ र रामेछापको मन्थली ६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ललितपुरको महाकाल हेटौंडा राजमार्ग, कान्तिपथ र त्रिभुवन पथ पनि अबरुद्ध छ। लम्जुङ(मनाङ राजमार्गमा पनि सवारी चल्न सकेका छैनन्। मुलुकभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेको छ।
गृहका अनुसार बाढी र वर्षा सम्बन्धी पूर्वसूचना सम्भावित क्षेत्रमा विहानदेखि नै एसएमएसमार्फत पठाइएको थियो। स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतलाई सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न पनि गृहले निर्देशन दिएको छ।
साथै, आपतकालीन उद्दारका लागि हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको छ। अविरल वर्षाका कारण अहिलेसम्म मुलुकभर ११ जनाको मृत्यु भइसकेको छ।
चितवनको सौराहामा बाढीको त्रास
राप्ती नदीको बहाब बढ्दै गएपछि चितवनको पर्यटकीय क्षेत्र सौराहामा त्रास फैलिएको छ। लगातार भइरहेको वर्षाले राप्तीको बहाब बढ्न थालेपछि सौराहाका रेष्टुरेन्ट व्यवसायीमा त्रास फैलिएको छ।
राप्ती किनारमा रहेका रेष्टुरेण्टको सबै सामग्रीहरु सुरक्षित स्थान तर्फ लैजान थालिएको छ।
रेष्टुरेण्ट तथा बार एशोसियसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले बाढी पस्न सक्ने संभावनालाई ध्यानमा राखेर राप्ती किनारमा रहेका रेष्टुरेण्टका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको बताए। तत्कालै बाढी पस्ने सम्भावना नरहे पनि व्यवसायीहरु भने सचेत भएर बसेका उनले बताए।
दुई वर्षअघि आएको बाढीले सौराहा क्षेत्र डुबानमा परेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले राप्तीमा बाढीको संभावना देखिएकोले सचेत रहन सौराहाका व्यवसायीहरुलाई आग्रह गरिएको बताए।