काठमाडौँ, २७ असार। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमन गर्दा पत्रकार साथमा लिएर नजाने बताएका छन्। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयमा नेपाल चेम्बर अफ कमर्सले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै मन्त्री यादवले भने, ‘गल्ती प्रमाणित नभई व्यवसायीको गलत प्रचार हुन नदिनको लागि कुनै पनि अनुगमनमा मिडिया लिएर जाने पक्षमा म छैन।’
अनुगमनकै क्रममा दोषी पहिचान हुन नसक्ने तर, सँगै गएका सञ्चार माध्यमबाट उक्त गलत प्रचार हुने र यसले समग्र व्यवासायमा असर पर्ने हुँदा आफूले अनुगमनका क्रममा पत्रकारलाई साथमा लिएर नजाने निर्णय गरेको बताए। मन्त्री यादवले दशै तिहारमा मात्रै अनुगमन गरिन्छ भन्ने भ्रममा नबस्न व्यवसायीलाई समेत आग्रह गरेका छन्।
सिमित स्रोत र साधनका भरमा अनुगमन फितलो भएको स्वीकार गर्दै मन्त्री यादवले सरकार व्यवसायीलाई अपमानित गर्ने पक्षमा नरहेको तर अनुगमन गर्न पर्ने बाध्यता पनि नल्याउन व्यवसायीलाई आग्रह गरे। सरकारले ल्याएको नीति व्यवसायीले अक्षरस पालना गर्नुपर्ने भन्दै उनले सरकारका कदम गलत भएको लागे छलफलको बाटो खुला रहेको बताए।
आफूलाई पायक भएन भनेर सरकारी नीतिको आोचना गर्दै गलत गर्न थाले सरकार चुप नलाग्ने मन्त्री यादवले बताए । व्यवसायीका समस्या समाधान गर्न छलफल नै उत्तम विकल्प भएको भन्दै मन्त्री यादवले सरकारसँग जुध्न आए आफू पनि भिड्न तयार हुने चेतावनी दिए।