काठमाण्डौँ, २७ असार। साँझ सात बजेसम्मको लागि उडान र अवतरण दुवै सुचारू गर्न नसक्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमान उडाउनका लागि विमान चालकलाई सूचना ‘नोटाम’ जारी गरेको छ।
विमानस्थलले धावनमार्गमा चिप्लिएको यति एयरलायन्सको विमानको अवरोध हटाउनका लागि सबै संयन्त्र सञ्चालनमा ल्याइए पनि झरिले गर्दा समयमै हटाउन नसकिएको जनाएको छ। तर, साँझ सात बजेसम्म ‘नोटाम’ जारी गरे पनि जहाज हटाउन त्योभन्दा बढी समय लाग्नसक्ने विमानस्थलको अनुमान छ।
धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ (विमान पार्किङ स्थल)तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन्। विमानलाई अगाडिबाट तानेर लैजाने लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भैरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।
नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेदेखि उडान र अवतरण बन्द भएको छ। धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान नहट्दा काठमाण्डौ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ट’ गरिएको विमानस्थलले जनाएको छ।