काठमाडौँ, २७ असार। वर्षा नरोकिएपछि नदी किनारका सर्वसाधारण त्रासमा बस्न बाध्य भएका छन्। काठमाडौँ उपत्यकाका नदी किनारका बस्तीहरु डुवानमा पर्न थालेका छन्। कलंकी, कुलेश्वरलगायतका स्थानमा बाढी बस्तीमा पसेको छ भने हनुमन्ते खोलाको पानी पनि बस्तीतिर सोझिएको छ।
तर, जल तथा मौसम विज्ञान विभागले भने तत्काल वर्षा रोकिने संभावना नरहेको बताएको छ। विभागका अनुसार अझै दुई दिन पानी पर्ने संभावना छ। ‘शनिबार पनि दिनभर लामो झरी पर्ने सम्भावना छ,’ मौसमविद् समिर श्रेष्ठले भने। शुक्रबार विहान ८ः४५ बजेसम्म काठमाडौँमा ५० दशमलव ६ मिलिमिटर पानी परेको थियो।
दिउँसो २ः४५ सम्म थप ४४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। ‘अब केहीबेरमा साँझ ५ः४५ सम्म परेको पानीको मात्रा आउँछ,’ उनले भने, ‘पानी पर्न नरोकिएकोले झनै बढ्न सक्छ।
विभागको तथ्यांकअनुसार २३ जुलाई २००२ मा १७७ मिलिमिटर पानी परेको थियो। जुलाई महिनाभरको हिसाब हेर्ने हो भने गतवर्ष ३६५ मिलिमिटर पानी परेको थियो। यो वर्ष १३९ मिलिमिटर पानी परेको विभागले जनाएको छ। काठमाडौँ उपत्यकालाई हेर्ने हो भने नदीनालाको क्षेत्रफल साँघुरिँदै गएकोले त्यसको असर मानव वस्तीमा पर्न थालेको उनले बताए।
‘सहरका कंक्रिट संरचनाले पनि परेको पानी जमिनमुनि जान नपाउँदा बाढीको रूप लिएको हो,’ उनले भने, ‘आकाशबाट परेको पानी जमिनमुनि जानै नपाएपछि सिधै खोलामा पुग्छ। र पानीको सतह बढ्छ।’