काठमाडौँ, २९ असार। विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ। क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरू हुनेछ। पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन्। योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन्।
सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको न्युजिल्यान्डको उच्च मनोबल छ। घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै ऐतिहासिक दिन बनाउने लक्ष्यमा न्युजिल्यान्ड छ। विश्वकपको उपाधि जितेमा न्युजिल्यान्डले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछ।
यता, इंग्ल्यान्ड पनि आफ्नै घरेलु मैदानमा उपाधि जित्दै ऐतिहासिक जित बनाउन चाहन्छ। पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो। त्यसो त, लिग चरणको खेलमा न्युजिल्यान्डमाथि ११९ रनको जित निकालेको इंग्ल्यान्ड फाइनल खेलमा पनि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ।