कास्की, ०६ साउन। पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ। आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा सोमबार बिहानैदेखि ठूला यातायातका साधन चल्न सकेका छैनन। पोखरा प्रवेश गर्ने मुख्य द्वारको यो डाइभर्सनमा शनिबार राति पनि बाढीले बगाएर क्षति पुर्याएको थियो।
आइतबार दिउँसोबाट यातायात सञ्चालनमा ल्याइए पनि आइतबारको बाढीले पुनः क्षति पुर्याएपछि फेरि अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए। नदीमा राखिएका ह्युमपाइप नबगाए पनि ह्युमपाइपमाथिको ग्राभेल बगाउँदा क्षति पुगेको उनले बताए।
नदीमा पानीको सहत नघटेसम्म मर्मत गर्न समस्या हुने उनको भनाइ छ। विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिएको छ। पक्की पुलको आडमा निर्माणाधीन बेलीब्रिज असार मसान्तभित्रमा सञ्चालनमा ल्याइने बताइए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।