चितवन, ०६ साउन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीनपाङ्ग्रे सवारीसाधनमा निगरानी बढाएको छ। अटो ट्याम्पो र विद्युतीय रिक्साको चेकजाँचमा कडाई गर्न थालेपछि यसका चालकहरू ट्राफिक प्रहरीप्रति रुष्ट बन्न थालेका छन्। साउन लागेपछि ट्राफिक प्रहरीले भरतपुर–नारायणगढ क्षेत्रमा चल्ने तीनपाङ्ग्रे सवारीसाधनमा नजर लगाउन थालेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार शनिबार र आइतबार गरेको चेकजाँचबाट मात्रै २९ वटा तीनपाङ्ग्रे सवारीसाधनबाट ८७ हजार २९० रूपैयाँ राजस्व संकलन गरिसकिएको छ। यस्तै सोमबार गरेको चेकजाँचका क्रममा थप २० वटा तीनपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको उनले बताए। सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकबाट प्रतिव्यक्ति तीन हजार १० रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।
पटकपटक नियन्त्रणमा लिएर सचेत गराउँदा पनि अनुमतिपत्र नलिई चलाएको पाइएकोले योपटक कडारूपमा जरिवाना तिराउन बाध्य भएको उनको भनाइ छ। लाइसेन्स नलिई सवारीसाधन चलाएको पाइएमा दुई हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना लिन पाउने प्रावधान रहेको उनले बताए। यति गर्दा पनि अटेर गरेर चालक अनुमतिपत्र बिनै सवारी चलाएको पाइएमा योभन्दा बढी जरिवाना तिराउन बाध्य हुने उनले बताए।