काठमाडौँ, ०६ साउन। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुरा नमिलेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा स्कुल विभागमा कसलाई प्रमुख बनाउने भन्नेबारे कुनै निष्कर्ष ननिस्किएपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो।
पार्टी स्कुल विभागको प्रमुखमा सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरलले दाबी नछोडेपछि सोमबार ओली र प्रचण्डबीच करिब तीन घन्टा छलफल गरेर पनि निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ। प्रचण्डसहित पूर्वमाओवादी केन्द्रका नेताहरू पोखरेललाई स्कुल विभाग प्रमुख दिन नहुने अडानमा छन्। पार्टीको कार्यनीति जनताको जनवाद हुने सहमति भइसक्दा पनि जनताको बहुदलीय जनवादकै पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन नहुने तर्क पूर्वमाओवादी पक्षको छ।
स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन। यसअघि दुई अध्यक्षबीच छ विभागमध्ये संगठन, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान पूर्वएमालेलाई, आर्थिक र प्रचार विभाग पूर्वमाओवादी केन्द्रलाई दिने अनौपचारिक समझदारी बनेको थियो।
स्रोतका अनुसार मंगलबार बस्ने भनिएको सचिवालय बैठक साउन ९ गते बस्ने गरी स्थगित भएको हो। ‘प्रधानमन्त्रीज्युलाई सन्चो पनि छैन र दुई अध्यक्षलाई गृहकार्यका लागि थप समय पनि चाहिन्छ भन्ने खबर आयो,’ एक सचिवालय सदस्यले भने।